लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछें, भक्तपुरको १९औं स्थापना दिवसको अवसरमा युवा तथा अतिरिक्त क्रियाकलाप उप-समितिको आयोजनामा अन्तर सहकारी १९ वर्षमुनिको छात्रा एकल ब्याडमिण्टन प्रतियोगिता- २०८० (singles U19 Badminton Competition-2080]को सेमिफाइनल तथा फाइनल खेल सहित समापन एवं पुरस्कार वितरण कार्यक्रम भक्तपुर नगरपालिकाको युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीको प्रमुख आतिथ्यतामा २०८० पुस २८ गते सम्पन्न भयो । सोही कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि खत्रीले लोकेश्वर साकोसबाट निरन्तर रुपमा खेलकुदका गतिविधिहरु सञ्चालन हुदै आएको कार्य अत्यन्तै सराहानिय रहेको र यसलाई निरन्तर सञ्चालन गर्दै लैजानुपर्ने विचार व्यक्त गर्नुभयो । भक्तपुर नगरपालिकाबाट खेलकुद क्षेत्रमा हुदै आएको विभिन्न गतिविधि बारे प्रकाश पार्दै उहाँले माघ महिनामा अन्तर विद्यालय भनपा नगरस्तरीय खेलकुद प्रतियोगिता हुने जानकारी दिनुभयो । उहाँले नगरबासीहरुको स्वास्थ्यलाई ध्यानमा राखी वडा वडामा छिकंङ खेल प्रशिक्षण गरेको बताउनुभयो ।
कार्यक्रममा मन्तव्य व्यक्त गरेका भक्तपुर जिल्ला ब्याडमिण्टन संघका राजेन्द्र प्रजापतिल भक्तपुरमा खेलकुद क्षेत्रमा भइरहेको प्रगतिबारे चर्चा गर्दै यसलाई अझै राम्रो गर्नका लागि विभिन्न भौतिक पूर्वाधारको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सो संस्थाको गतिविधिबारे प्रकाश पार्दै त्यसै सस्थाका अध्यक्ष राजन जतिले हाम्रो यस संस्थाले सदस्यहरुलाई हरेक बर्ष खेलकुद सम्बन्धी विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ र आगामी दिनहरुमा पनि यस्तै गतिविधिहरु सञ्चालन गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उक्त संस्थाको युवा तथा अतिरिक्त क्रियाकलाप उप-समितिको आयोजनामा सम्पन्न भएको उक्त प्रतियोगिताको सेमिफाइनलको क्रमशः पहिलो र दोस्रो खेलमा लोकेश्वर साकोसका प्रीति देशेमरुले भक्तपुर साकोसका सोनम प्रजापतिलाई र लोकेश्वर साकोसका रुषा जतिले थी थी उ.सहकारी संस्था लि.का निरु खत्रीलाई सोझो सेटमा पराजित गरी फाइनमा प्रवेश गर्न सफल भएका थिए ।
सो प्रतियोगिताको अन्तिम (फाइन) खेलमा लोकेश्वर साकोसका प्रीति देशेमरूले लोकेश्वर साकोसकै रुषा जतिलाई २० सेटले पराजित गरी विजेता हुन सफल भइन् ।
युवा तथा अतिरिक्त क्रियाकलाप उप-समितिका संयोजक राजु छुकांको अध्यक्षतामा भएको उक्त प्रतियोगिताको फाइनल खेल पछि विजेता खेलाडीहरु, सहभागी सम्पुर्ण सहकारीहरु र निर्णायकको भूमिकामा रहेका रेफ्रीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी सो कार्यक्रम सम्पन्न भएको थियो । आयोजक उप-समितिका इन्द्रभक्त पचंले सम्पुर्ण सहभागीहरुमा धन्यवाद ज्ञापन गर्दै यस संस्थाबाट आयोजना हुने सम्पुर्ण गतिविधिहरुमा सधै साथ सहयोग रहने अपेक्षा सहित स्थापना दिवस कै अवसरमा संस्थाबाट सदस्यहरुलाई यही माघ ७ गतेदेखि धां बाजा प्रशिक्षण गर्ने जानकारी दिनुभयो ।