काठमाडौं महानगरपालिका-३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संंस्था लि.को आयोजनामा सदस्य राहत नीति तथा कार्यम्रम सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो ।
यही पुस २० गते सम्पन्न उक्त कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सोही संंस्थाका अध्यक्ष मुुकुन्दराज खनालले हाम्रो यस संस्थामा विज्ञ सदस्यहरुको साथ र सहयोग छ, हामीले ठूलो भोलुममा सदस्यहरुको स-सानो नियमित बचतले संस्था दीगो हुन्छ भने अर्कोतिर संंस्थालाई कस्तो बनाउने भन्ने बारेमा संस्थाको कम्तिमा १० देखि १५ वर्षको रणनीतिक योजना बनाउनुपर्छ’, भन्नुभयो । संस्थाको उन्नतिसँगै हामीले संस्थाका सदस्यहरुको औषधि उपचार खर्च, सुत्केरी पोषण भत्ता तथा उपचार खर्च, कुनै सदस्यको मृत्यु भएमा निजको परिवारलाई समवेदना स्वरुप खर्च प्रदान गर्ने जस्ता संस्थाका सदस्यहरुको सेवा सुविधामा ध्यान दिनु पर्ने खाँचो औंल्याउनुभयो । उहाँले संस्थाको बचत नीतिको मस्यौदा तयार भएको छ र यसलाई अन्तिम रुप दिएर २०८१ सालमा हुने संस्थाको १५औँ वार्षिक साधारण सभामा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो संंस्थाका शिक्षा उप-समिति संयोजक सुरेश धिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्तव्य व्यक्त गर्दै त्यसै संस्थाकी सञ्चालक तथा ऋण उप-समिति संयोजक शान्ता गौतमले ‘हाम्रो यस संस्थामा मल्टिपल सेक्टरबाट आउनु भएका सदस्यहरु हुनुहुन्छ, यस संस्थाप्रति उहाँहरुको कुनै स्वार्थ छैन र उहाँहरु निस्वार्थ भावले संस्थाको नीति र नियम पालना गरेर यसको प्रवर्द्धनको लागि लागिरहनुभएको छ, जसले गर्दा संस्था दीगो हुन्छ भनेर मलाई पूर्ण विश्वास छ’, भन्नुभयो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सोही संस्थाका सल्लाहकार डा.लक्ष्मण शाक्यले सहकारीले साामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा पु-याएको योगदानको चर्चा गर्दै वचन साकोसलाई थप बलियो बनाउने गरि दीर्घकालीन योजना र कार्यक्रम बनाएर अगाडि बढ्नु पर्ने सुझाव दिनुभयो ।
उक्त संंस्थाका शिक्षा उप-समिति सदस्य कृष्णप्रसाद डंगोलले सञ्चालन गर्नुभएको त्यस कार्यक्रममा सो संस्थाका प्रबन्ध निर्देशक डा.देशमर्दन बस्न्यातले संस्थाको सदस्य राहत नीति तथा कार्यक्रम बारे प्रकाश पार्दै ‘हालको सहकारीको अवस्थालाई नियाल्दा सहकारी सिद्धान्त , मूल्य , मान्यता र आचारसंहिता अनुसार दैनिक रुपमा गरिने कार्यहरु सञ्चालन गर्न नसक्नु , सदस्यको उन्नति , सामाजिक ,सांस्कृतिक तथा आर्थिक क्रियाकलाप अनुरुप कार्य गर्नु पर्नेमा यसलाई आ-आफ्नै तथ्य र विधिबाट प्रयोग गरेको हुनाले सहकारीमा उतारचढाव आएको देखिन्छ’, भन्नुभयो । सहकारीले देशको आर्थिक बृद्धिमा चामत्कारिक योगदान पु-याउन नसकेपनि आर्थिक मन्दी , कोभिड जस्ता महामारी , गृहयुद्ध, भूकम्प ,बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपको असर कम गर्नमा सहकारीको योगदान महत्वपूर्ण रहने भन्दै उहाँले संस्थाको दीगोपनको लागि वचन साकोसले मात्रै नभई अरु सहकारी संघ/संस्थाहरुले पनि स-सानो नियमित बचत कार्यक्रम सञ्चालन गर्नु पर्ने खाँचो औँल्याउनुभयो । ‘सहकारीको मुुख्य कडी भनेको सहकारी नीति , मुल्य र मान्यता अन्तर्गत रहेर सुशासनीय प्रशासन र सदस्यहरु बीच सामन्जस्यता कायम गर्दै जान सक्नु हो’, उहाँले भन्नुभयो । उहाँले सहकारीको व्यवस्थापक निरन्तर अध्ययनशील भइ सहकारी ऐन, नियमावली तथा अन्य नीति नियमहरुको साथै अनुसन्धनात्मक कृतिहरुको अध्ययन गर्न सक्नु पर्ने विचार व्यक्त गर्नुभयो । प्रबन्ध निर्देशक बस्न्यातले धेरै विधाका कार्य गरेर सन्तुष्टी लिन भन्दा एउटा मात्रै कार्य र त्यसको विभिन्न पोर्टफोलियो बनाइ त्यसैमा समर्पित भइ कार्य गर्न सकेमा सिङ्गो समाजलाई उदाहरण दिने कार्य भइ समग्र समाजको विकास हुन्छ’, भन्नुभयो । उहाँले सफल सहकारी व्यवसायी भइ कार्य गर्नको लागि सञ्चालक समितिलाई दैनिक रुपमा प्राप्त हुने सूचनाहरु र अल्पकालीन तथा दीर्घकालीन रणनीतिहरुमा प्रत्यक्ष रुपमा सिर्जनात्मक सहभागी हुन सकेमा मात्र सफल हुन सक्ने बताउनुभयो । ‘सदस्यहरु नै सहकारी संंस्थाको भविष्य भएको हुनाले सहकारी संंस्थाको नेतृत्वले उनीहरुको पीरमर्का बुझेर काम गर्न सक्यो भने मात्रै परिकल्पना गरिएको सहकारी व्यवहारमा प्रमामित हुन सक्छ’, उहाँको थप भनाइ छ ।
त्यस संंस्थाको सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी र सदस्यहरु एवं कर्मचारीहरुले सदस्य राहत नीति तथा कार्यक्रमको मस्यौदा बारे गहन छलफल गरि सल्लाह र सुझाव दिनुभएको थियो ।
वचन साकोसमा ३३.१४ प्रतिशत तरलता
वचन बचत तथा ऋण सहकारी संस्था लि.मा तरलता ३३,१४ प्रतिशत रहेको जनाइएको छ । समुदायमा आधारित भइ सदस्य केन्द्रित भएर सञ्चालन भइरहेको यो संंस्थामा शेयर पूँँजी रु.४,२१,२६,२००, निक्षेप संंकलन रु.२०,८०,६८,९४१, ऋण लगानी रु.२०,९८०३,०२४, जगेडा कोष रु.३,२९,९०,२०६ र कुल कारोबार रु.२९,९६,०९,२३३ रहेको बताइएको छ । सो संंस्थाले शुरु गरेको फेलोसोफी कार्यक्रम अन्तर्गत सहकारी सम्बन्धी विषयमा स्नातकोत्तर /एमफिल वा विद्यावारिधिको शोधप्रबन्धको लागि संस्थाको उक्त कार्यक्रमको नीति नियम भित्र रहेर इच्छुक व्यक्तिलाई आवेदन दिन आह्वान गरेको छ ।